झापा ।
झापामा चोरी आरोपमा फरार तीन जनालाई बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति झापाको अर्जुनधारा नगरपालिका ७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरी फरार रहेका झापाको अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङलाई भरुवा बन्दुक र खुकुरी सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको थियो । तामाङको घरमा लुकाएर रोखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो । भरुवा बन्दुक र खुकुरी उनीहरुले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले जानकारी दिए ।