बुटवल ।
छाडा साँढेले आक्रमण गर्दा बुटवलमा एक महिलाको ज्यान गएको छ । गत साउन २० गते सडकमा जुधिरहेको छाडा साँढेको आक्रमणमा परी घाइते भएकी गुल्मीकी ४५ वर्षिय सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको हो ।
गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।
बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरुपमा नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम वढ्दै गएको छ ।













