भेरीगङ्गा ।
कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाएका परिवारका एक सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।
विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले तीन करोड रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट ज्यान गुमाएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।
यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी ज्यान गुमाएका २० जनाको परिवारलाई ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ ।














