सृजना माविमा नवआगन्तुक विद्यार्थी स्वागत

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना आवासीय माध्यमिक विद्यालयले यही साउन १९ गते शनिवार नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई. उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरी विद्यार्थी स्वागत गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा सञ्चालन भएको उक्त स्वागत कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटा रहनुभएको थियो भने पहिलो नेपाली तारा २००५ का विजेता राष्ट्रिय गायक, पोख्रेली कलाकार धमेन्द्र सेवान विशेष अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवकोटाले मन्तव्य राख्दै विद्यार्थीले आफ्नो सही गन्तव्य पहिचान गरेर त्यसैतर्फ मन, वचन र कर्मले लाग्नुपर्ने बताउदै आफ्नो लक्ष्यमा अविचलित भई अनुशासित एवम् लगनशील भई आफ्नो पढाइलाई अगाडि बढाउन सुझाव दिए । विद्यार्थी सृजनशील हुनुपर्छ, सृजनशील तथा लगनशील विद्यार्थी नै देशका भविष्य हुन् भन्ने कुरामा जोड दिए । सम्पूर्णरूपमा विद्यार्थी सफल भएमा नै सबै सफल हुने कुरा उल्लेख गर्दै विद्यार्थीले सधै सकरात्मक सोचका साथ अगाडि बढनुपर्ने कुरा सुुझाए ।

विद्यालयको पूर्व विद्यार्थी गण्डकी मेडिकल कलेजकी डाक्टर स्मीता सुवेदीले अतिथिको मन्तव्यका क्रममा विद्यालयमा अध्ययन गर्दाका अनुभवहरू सुनाउँदै विद्यार्थीले कहिल्यै अरुको लहैलहैमा नलागी अग्रजहरूको सुझावलाई आत्मसाथ गर्दै पढाइमा दत्तचित्त हुन विद्यार्थीहरुलाई आग्रह समेत गरे । आफ्नो लक्ष्यसम्म पुग्नका लागि विद्यार्थीसँग दृढ इच्छाशक्ति, धैर्य, साहस र लगन अपरिहार्य हुन्छ, उनले भने ।

विद्यालयका प्राचार्य डोलराज पाण्डेले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै भने, विद्यालयले आधुनिक प्रविधियुक्त, गुणस्तरीय एवम् संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्तै शिक्षा प्रदान गर्न हरदम तत्पर रहने प्रण गर्दछु ।

विद्यार्थीहरुका लागि विद्यालयले दैनिक शैक्षिक कार्यक्रमहरूसहित अन्य नियमित गतिविधिहरू सञ्चालन गरिने जानकारी गराउँदै विद्यार्थीले समयको महत्वलाई बुझेर पढाइमा मिहिनेत गरेमा त्यसको परिणाम उत्कृष्ट आउने जानकारी दिए । सृजनाले हरेक वर्ष विभिन्न क्षेत्रमा सृजनशील, योग्य अनि दक्ष जनशक्ति उत्पादन गरिरहेको स्मरण गराउँदै विद्यार्थीलाई सृजनशील बन्न आग्रह समेत गरे ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय गायक धर्मेन्द्र सेवानले कर्णप्रिय गीतहरू गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । साथै चर्चित नृत्य कलाकार विपसा चदराले प्रस्तुत गरेको सुन्दर नृत्यले सबैको मन चोरेको थियो र छमछम नाचेका थिए । कक्षा १२ विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूले विभिन्न गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यालयमा गत वर्षदेखि सञ्चालनमा आएको माइ सेकेण्ड टिचरको टिमले आफ्नो प्रस्तुति राखेको थियो ।

यसै कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका विद्यालयका पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको थियो । साथै विद्यालयबाट एस.ई.ई. २०८० मा ४ जी.पी.ए हासिल गरी कक्षा ११ विज्ञान समूहमा भर्ना भएका आयुष खड़का र मिस एस.ई.ई. पोखरा–२०८० को विजेता, यसै विद्यालयकी छात्रा युजिन घलेलाई सम्मान गरेको थियो ।

कार्यक्रममा कक्षा १२ व्यवस्थापनकी छात्रा अङ्किता पोखेलले स्वागत मन्तव्य राखेकी थिइन भने कक्षा १२ विज्ञान समूहका छात्र दर्शन अधिकारीले मन्तव्य राखेका थिए । यसैगरी नव आगन्तुक विद्यार्थीका तर्फबार युजिन घले, आदित्य सिवाकोटी र आयुष खड्काले मन्तव्य राखेका थिए ।

  • २१ श्रावण २०८१, सोमबार १९:५४ प्रकाशित