पोखरा २६ का टोलमा सरसफाई र डष्टविन वितरण

केन्द्रभाग मिडिया

लेखनाथ ।

पोखरा महानगरपालिका वडा नंं २६ ले शुक्रबार देखी वडाका टोलमा सरसफाई र जनगुनासो सम्बोधन अभियान शुरु गरेको छ ।
वडाको सक्नेरी, हिमाली टोल, रिठ्ठेपानी, तालवेसी, घैटेकोखोर बरालडाँडा, उपरजरे टोलबाट अभियान शुरु भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यालयमा बसेरमात्रै जनताको गुनासो थाह नहुने भएकाले टोल टोलमा अभियान लिएर आएको बताए ।

अध्यक्ष थापाले टोल सरसफाई पनि हुने र जनताको गुनासो सुन्न पनि पाईने भएकाले कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे ।

आफुहरु निर्वाचित भएर आएको दुई बर्षमा झण्डै ३० करोड बराबरको विकास निर्माणको काम भएको उल्लेख गर्दै, चालु आ.व. पनि संघ, प्रदेश र महानगर र वडाबाट गरी २० करोड बढी बिनियोजन भएको बताए ।

निर्वाचित भएको पाँच बर्षमा प्रतिवद्धता गरेका सवै काम सम्पन्न गर्ने योजना रहेको उल्लेख गर्दै, अध्यक्ष थापाले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य र सामाजिक विकास तर्फ बजेट विनियोजन गरिने बताए । अध्यक्ष थापाले सरसफाई अब्बल रहने टोल विकास संस्थाको बिशेष मुल्यांकन गरिने उल्लेख गरे । टोल र वडा जस्तै राजनिति पनि सफा हुनु पर्नेमा जोड दिदै अध्यक्ष थापाले यो बर्षलाई सरसफाई अभियान बर्षका रुपमा पनि अगाडी बढाईने उल्लेख गरे ।

कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाटले गत दुई आर्थिक बर्षमा सक्नेरी क्षेत्रमा विनियोजन भई कार्यसम्पनन योजनाहरुको बिवरण प्रस्तुत गरेका थिए ।

साउन १८ गते देखी २१ गतेसम्म संचालन हुने अभियान वडाका विभिन्न स्थानमा सरसफाई, डष्टविन बिरतण र जनगुनासो सुन्दै सकिने छ । अभियानभरी विभिन्न टोलहरुमा तीन सय थान डष्टविन बितरण गरिने जनाइएको छ ।

  • १८ श्रावण २०८१, शुक्रबार १५:२८ प्रकाशित