कांग्रेसको १४औं महाधिवेशन: निर्वाचन प्रक्रिया सुरु हुँदै,यस्तो छ समय तालिका

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज आगामी कार्यकालका लागि पार्टीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

हिजो उद्घाटन समारोह सकिएपछि बन्दसत्र समेत सम्पन्न गरेको कांग्रेस महाधिवेशनअन्तर्गत आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा साँझ ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय तोकिएको छ। ।

आइतबार दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान केन्द्र बनाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार मतदान ‘ब्यालेट पेपर’ मा हुनेछ । कांग्रेसले ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ (ईभीएम) प्रयोगका लागि पहल गरे पनि शीर्ष नेताबीचमा सहमति नजुटेपछि ‘ब्यालेट पेपर’ नै प्रयोग गरिन लागिएको कांग्रेस स्रोतले जनाएको छ ।

महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन गर्नेछ । यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस(आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी सहमहामन्त्री आठ सहमहामन्त्री पनि चयन गर्नेछ।

केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ ।

केन्द्रीय महाधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष चुन्नेछन् ।

यस्तै दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिनेछन् ।​​

अल्पसङ्ख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट निर्वाचित हुने छन् ।

कांग्रेसको विधानमा सभापतिले केन्द्रीय कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरेको छ ।

  • २५ मंसिर २०७८, शनिबार ०७:०४ प्रकाशित