काठमाडौं ।
व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको पेसी भट्टका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत असोज ८ मा तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लगायतका नाममा आदेश जारी गरेको थियो ।
त्यसैगरी, विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पनि नियम अनुसार पेस गर्न भनिएको थियो ।
साथै, सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्ट विरुद्ध नेपाल सरकार भएका मुद्दाहरू अवलोकनार्थ मुद्दा साथै राखी पेस गर्न आदेश दिएको थियो ।












