गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले पुरिदाँ एकै परिवारका तीन सहित ४ जना बेपत्ता भएका छन् ।
गएराति गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एउटा घर पुरिँदा चारजना बेपत्ता भएका हुन्। पहिरोमा हराएका एक जनालाई भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका स्वकीय सचिव राज गुरुङले जानकारी दिएका छन्।
घटनास्थल दुर्गम ठाउँमा रहेकाले त्यहाँ पुग्न कठिन भएको अध्यक्ष गुरुङले बताएका छन् । गएराति ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा घरमुली गुरुङसहित चार जना बेपत्ता भएका हुन्।
सुरुमा ५ जना बेपत्ता भएका भएपनि पछि एक जनालाई गम्भीर घाइते अवस्थामा फेला पारिएको बताइएको छ ।बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा कान्छामान गुरुङ छन्। त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ पनि पहिरोमा बेपत्ता छन्। उनी हाइड्रोका कामदार हुन्।
पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । उनलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ ।पहिरोस्थल नजिकै वाटर इनर्जी हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ। सोही हाइड्रो पावरमा काम गर्ने मजदुरसहित नौ जना गएराति सो घरमा बास बसेका थिए।
राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको हो। घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन्।
पहिरोले एउटा कुखुरा फार्म र केही मेसिन पनि बगाएको उनले बताए। घटनास्थलबाट भागेर ज्यान जोगाएका खमबहादुरले पहिरोमा मानिसहरु पुरिएको जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले घटनास्थलमा अझै प्रहरी नपुगेको बताए।












