गण्डकीका मन्त्री विन्दुकुमार थापाद्धारा कास्की कारागारको निरीक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् ।

शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए ।

‘कास्की कारागारको आज निरिक्षण गरेको छु । बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ ।’, उनले भने

मन्त्री थापाले कारागारमा देखिएको खानेपानी लगायतका अन्य समस्याका विषयमा समेत जानकारी लिएको बताए ।

 

कारागारमा भएका समस्यालाई समाधान गर्न आफु लाग्ने प्रतिबद्धता समेत उनको छ । कास्की कारागार पहिले भन्दा व्यवस्थित भएको उनले बताए । ‘कारागार पहिले भन्दा व्यवस्थित रहेछ । सरसफाईमा समेत ध्यान दिएको पाए । आवश्यक सामान बिक्रीमा कारागार भित्र हुने गरेको मुल्यवृद्धिमा समेत ध्यान दिन निर्देशन दिएको छु।’, उनले भने ।

कैदीबन्दीहरुले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेको र त्यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिवलाई समेत निर्देशन गराइसकिएको उनले बताए । कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।

  • ४ श्रावण २०८१, शुक्रबार १६:५३ प्रकाशित