सिमलताल दुर्घटनामा ज्यान गुमाएका सुदिप विकको परिवारलाई भरतपुर महानगरको सहयोग

केन्द्रभाग मिडिया

चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर–२२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो ।

भरतपुर महानगरपालिकाको हिजो बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो । सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गरिन ।

महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्रकृति विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहात भएको बताइन । अहिलेसम्म १८ जनाको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले जानकारी दिइन ।

‘हामी अहिले दुःखको क्षणमा छौ,उनले भनिन,‘सन्तान गुमाउनुको पीडा हामीले बुझेका छौ । सिंगो महानगरपालिका यहाँको साथमा छ । शोकलाई शक्तिमा बदल्ने सर्माथ्य मिलोस् भन्ने कामना गर्दछौ।’प्रमुख दाहालले दुःखमा रहेको परिवारलाई केही भएपनि राहात मिलोस् भनि कार्यपालिका बैंठकमार्फत रु २ लाख दिने निर्णय गरेको स्पष्ट पारिन ।

दहालले संघीय तथा प्रदेश सरकारले यस घटनामा ज्यान गुमाएका पीडित परिवारलाई राहात प्रदान गर्नेमा आशावादी रहेको बताइन ।

  • ३ श्रावण २०८१, बिहीबार १७:३२ प्रकाशित