पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत रकम वितरण

केन्द्रभाग मिडिया

पोखरा ।
गत असार २७ गते राती परेको अविरल वर्षाका काराण कास्की पुरनचौर तल्लाकोट टारीमा पहिरोले पुरिएर ज्यान गुमाएका कुल बहादुर परियारका परिवारलाई घटनास्थलमै पुगी राहत रकम हस्तान्तरण गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका कुल बहादुर परियार, मनकुमारी परियार, लक्षीमा परियार, प्रशना परियारका परिवारलाई कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहितको जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको टोलीले नेपाल सरकारको विपदका घटनामा परी मृत्यु भएका ब्याक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद व्यवस्थापन कोषबाट ५ लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी ७ लाख रकम हस्तान्तरण गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए ।

उक्त घटनामा परी कुल बहादुर परियारको नाबालक छोरा बाहेकका सम्पूर्ण परिवारका सदस्यहरुको निधन भएकोमा प्रदान गरिएको राहत रकमको दुरुपयोग हुन नदिन निजको नाममा बैंक खाता खोली राखिदिने ब्यवस्था मिलाउनका साथै पहिरोमा परी घर पूर्ण रुपमा क्षती भएकाले आवास पुननिर्माणको प्रकृया सम्बन्धित स्थानीय तह वडा कार्यालयले तत्काल सुरुवात गर्न समेत प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्देशन दिए ।

उक्त घटनामा परी ज्यान गुमाएका स्याङजा स्थायी ठेगाना भएका मृतक कुल बहादुर परियारका बिवाहित छोरी प्रभा परियार र ज्वाई अस्मित परियारका परिवारलाई आवश्यक कागजात सहित नजिकको हकदार सम्पर्कमा आए पश्चात तत्काल राहत रकम उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

  • ३१ असार २०८१, सोमबार १७:२९ प्रकाशित