आज गण्डकी सहित दुई प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज गण्डकी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
हिजोबाट मनसुनको क्रम केही कम भएको भएपनि आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • ३० असार २०८१, आईतवार ०८:३६ प्रकाशित