पोखरा ।
कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार -२०८१ बाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् । पोखराको नयाँबजारस्थित तमु धिंमा एक कार्यक्रमका बीच उनलाई नगदसहित फेटा, भांग्रा, प्रमाणपत्रद्वारा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र पुरस्कार स्थापनाकर्ता कर्म तमुले सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्यविनेटबाट पास गरीसकेको बताइन् । यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाकी रहेको उनको भनाई छ । उनका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मात्रृ भाषा बोल्दै आएका छन् ।
सो अवसरमा बोल्दै पुरस्कृत सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताए । पुरस्कृत सारु मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत छन् ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुम बहादुर तमुले समग्रह आदिबासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निष्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व सारु मगरको बारेमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्वारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित सो पुरस्कारबाट हरेक वर्ष आदिवाशी जनजाती पत्रकार मध्य एक जनालाई सम्मान गर्ने गरिएको छ ।
यस अघि सो पुरस्कारबाट पत्रकारहरु रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एबी आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ सम्मानित भैसकेका छन् ।
फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा (दिल प्रसाद) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विना कुमारी थापा मग, सञ्चालन सचिव शुशिल श्रेष्ठले गरेका थिए ।













