काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने भन्दै बाहिर चलेको हल्ला हल्ला मात्रै भएको प्रधानमन्त्री सचिवालयले बताएको छ । यो हल्लामा कुनै सत्यता नभएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताहरुबीचको भेटमा ओलीले अहिले समीकरणमा कुनै समस्या नआउने भन्दै प्रचण्डलाई आवश्वस्त रहन आग्रह गरेको सचिवालयले बताएको छ ।
भेटमा दुई शीर्ष नेताहरुले नयाँ गठबन्धनका बारेमा कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको प्रधानमन्त्रीका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
छलफलपछि प्रचण्ड-ओलीको भेटको निष्कर्ष सुनाउँदै मल्लले भनेका छन्, ‘हामीहरुबीच केही कन्फ्युजन छैन । कांग्रेस-एमाले मिलेर सरकार बनाउने भन्ने विषय बजार हल्लामात्रै हुन् । हामी सरकारको काम र साझेदार दलहरुबीचको सम्बन्ध सुदृढ बनाउनेबारे छलफल गरिरहेका छौं । बाहिर अर्को हल्ला छ ।’
उनले सरकार राम्रो ढंगले अगाडि बढेको र यसकै निरन्तरताको पक्षमा रहेको बताए ।
शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए ।