पोखरा ।
नेकपा एमालेले गण्डकीको बजेटबाट २ मन्त्रालयको बजेट कटौती गरेर १ रुपैयाँ कायम गर्न प्रस्ताव राखेको छ ।
बिहीबार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफलका क्रममा एमालेका सांसदहरूले दुवै मन्त्रालयको बजेटले प्रतिफल नदिने भएकोले खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल गर्दै सांसद देवका पहारीले आगामी वर्षका लागि प्रस्तावित बजेट जनताको रोजगारीसँग नजोडिएको गुनासो गरिन् । कतिपय योजना व्यक्तिगत घरगोठमा जाने बाटोमा लगानी गरिएको उनको आरोप छ ।
उनले मन्त्रालयको बजेटले प्रतिफल निकाल्न नसक्ने गुनासो गरिन् । यस्तै, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेटमाथि छलफल गर्दै सांसद बेदबहादुर गुरुङले बजेटमा कुनै लक्ष्य र उद्देश्य नभेटिएकोले कार्यान्वयन गर्न नहुने बताए । यो मन्त्रालयमा गत वर्षको भन्दा कम बजेट छ । पूँजीगततर्फ ३ अर्ब ६७ करोड ७७ लाख र चालूतर्फ ३४ करोड ७६ लाख गरी ४ अर्ब २ करोड ५३ लाख बजेट छ । गत वर्षभन्दा यो ५५ करोड कम हो ।