अन्तशुल्क स्टिकर खरिदमा ३८ करोड भ्रष्टाचार, मुख्यसचिव अर्याल निलम्बनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ ।

उक्त दफामा भनिएको छ, ‘निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’

  • ९ असार २०८१, आईतवार १६:१४ प्रकाशित