काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए कारबाही गरिने बताएका छन् । एमालेको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइए स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै उनले पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
एमालेका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाबारे छलफल हुने जानकारी दिए । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।












