पूर्वप्रधानमन्त्री हसिना बंगलादेश फर्काउन भारतका दुई सर्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना फिर्ताका लागि दुई सर्त राखेको छ ।

बीबीसी बंगलाको रिपोर्टअनुसार भारतको पहिलो सर्त हो – हसिनालाई फिर्ता लान बंगलादेश सरकारले नै सैन्य विमान नयाँ दिल्ली पठाओस् । जसरी विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्ट ५ मा हसिना बंगलादेशबाट हेलिकप्टर चढेर भारत आएकी थिइन् ।

यस्तै दोस्रो सर्त हो –  बंगलादेश सरकारले हसिनालाई मृत्युदण्ड फैसलाविरुद्ध पुनरावेदन गर्ने ग्यारेन्टी गरोस् ।

द टाइम्स अफ इन्डियाले भारत, हसिनालाई स्वदेश फर्काउन इच्छुक रहेको उल्लेख गरेको छ ।

कारण हो – हसिनाको निरन्तर बसाइ भारत सरकारका लागि लज्जास्पद मुद्दा बन्दै गएको छ । यसले दुई देशबिचको सम्बन्धमा पनि असर गरिरहेको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि आलोचना भइरहेको छ ।

त्यसो त हसिनाले पनि आगामी डिसेम्बर बंगलादेश फर्किने योजना रहेको बताइरहेकी छन् । यसका लागि उनले दूतावासमार्फत आवेदन दिँदै बंगलादेशसँग नयाँ पासपोर्ट मागेकी पनि थिइन्। तर बंगलादेशले मृत्युदण्ड सुनाइएकी हसिनालाई पासपोर्ट दिन नमिल्ने बताएको छ ।

बरु बंगलादेश फर्किइन् भने फैसलाअनुसार मृत्युदण्ड दिइने चेतावनी दिइएको छ ।

विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै हसिना हसिना २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भारत भागेकी थिइन् । त्यसयता उनी भारतमै लुकेर बसेकी छन् ।

हसिनाले बंगलादेश छाडेपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले उनको कागजात रद्द गर्‍यो ।

अगस्ट २०२४ मा सत्ताबाट हट्नासाथ उनको कूटनीतिक राहदानी तथा जनवरी २०२५ मा साधारण राहदानी पनि रद्द गरिएको थियो ।

यसपछि अप्रिल २०२५ मा निर्वाचन आयोगले उनको राष्ट्रिय परिचयपत्र रद्द गरिदियो ।

१७ नोभेम्बर २०२५ मा ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना सरकारले दमन गर्दा १,४०० जनाको मृत्यु भएको थियो ।

यद्यपि हसिनाले आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गरेकी छन् । उनले अदालतको फैसलालाई पनि राजनीतिक बदला भनेकी छन् ।

  • २८ कार्तिक २०८३, शनिबार १५:१२ प्रकाशित