पोखरा ।
सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापन कार्यक्रममा आज बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नु सह्रानिय काम हो”, उनले भने । थापाले प्राकृतिक विपत्का समय स्काउटको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको भनाई उनको छ । विभिन्न तालिम र प्रशिक्षणका लागि भनेर प्रदेश सरकारबाट स्काउटका लागि १५ लाख विनियोजन भएको जानकारी उनले गराएका छन् । स्काउटका क्रियाकलापलाई निरन्तरता दिन प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा स्काउट नेपालकी पूर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुली, स्काउट लिडर माधव सिग्देल र प्रदेश स्काउट कार्यालय गण्डकीका अध्यक्ष सागर पौडेल लगायतले बोलेका थिए । असार ५ गतेदेखि सुरु भएको कार्यक्रमको समापन शनिबार भएको हो ।
कार्यक्रममा प्राकृतिक विपतका समय आफु र आफ्नो परिवार सहित समाजलाई कसरी सुरक्षित राख्ने विषयमा तालिम दिइएको थियो । गण्डकी प्रदेशका करिब ४ सय जना बालबालिकाको उक्त कार्यक्रम अवधिभर सहभागिता रहेको आयोजकले जानकारी गराएको छ ।













