आईसिसी टी–२० विश्वकप

बंगलादेशसंग २१ रनले नेपाल पराजित, जितविहिन हुँदै बाहिरियो

केन्द्रभाग मिडिया

 

पोखरा ।
आईसिसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ । केवल एक सय ७ रनको झिनो लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन जोड्यो ।

नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिए । यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन मात्रै दिएर तीन विकेट लिए । शकिब अल हसनले २ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए ।

रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।

यो हारसँगै नेपाल २०२४ को टी-२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।

  • ३ असार २०८१, सोमबार ०८:५७ प्रकाशित