पार्टीमा अराजकता नमच्चाउन ओलीको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनका लागि आवाज उठाउने नेता कार्यकर्ताहरूलाई निर्वाचनमा खाएको धक्काको बहानामा पार्टीमा अराजकता नमच्चाउन चेतावनी दिएका छन् ।

सोमबार पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको बहसमा उत्रेका नेता कार्यकर्ताहरूलाई लक्षित गर्दै पार्टीको विधान र महाधिवेशन नमान्ने छुट कसैलाई नभएको भन्दै एमालेमा अराजकता नचल्ने बताए ।

‘अस्ति मङ्सिर २७ गते ११ औँ महाधिवेशन प्रारम्भ भयो । पुस ३ गते नीति, विचार, विधि, विधान, नेतृत्व निर्वाचन गरेर, लोकतान्त्रिक ढङ्गले सबै कुरा निर्वाचन गरेर, टुङ्ग्याएर अगाडि बढ्यौँ’, अध्यक्ष ओलीले भने, ‘महाधिवेशन नमानेर, महाधिवेशनका निष्कर्ष नमानेर एउटा धक्काको बहानामा अराजकता उपयुक्त बाटो हुनै सक्दैन ।’

एमालेमा फागुन २१ को निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोर्नुपरेपछि नैतिकताका आधारमा अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

‘त्यसकारण म सबै कमरेडहरूलाई भन्न चाहन्छु— स्वस्थ, सभ्य र सङ्गठनात्मक विधि अन्तर्गत छलफलमा सरिक हौँ र अगाडि बढौँ’, ओलीले भने, ‘जनता हामीबाट अलिकति भ्रममा परेका छन् । यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ ।’

अध्यक्ष ओलीले एमाले र नेतृत्वविरुद्ध जे भ्रम छरिन्छन्, त्यसकै पछि कुद्ने तथा तिनै भ्रम र कुप्रचारहरूलाई मलजल गर्ने काम नगर्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

  • ५ आश्विन २०८३, सोमबार १३:५१ प्रकाशित