गण्डकीका सांसद गणेशमान गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले सांसद गणेशमान गुरुङलाई स्पष्टीकरण सोधेको छ ।

संसदीय दलले जारी गरेको ह्विप उल्लंघन गरेको भन्दै शनिबार गुरुङलाई स्पष्टीकरण सोधिएको एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए।

एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको प्रमुख सचेतक नेपालीले बताए ।

‘शुक्रबार बजेटको नीति तथा कार्यक्रम पारित हुने दिन थियो । हामीले विपक्षीमा मतदान गर्न ह्विप जारी गरेका थियौं । उहाँ आएर बोलेर जानुभयो । हाम्रो गु्रपमा पनि ह्विप जारी गरेको जानकारी गराएका थियौं । पछि फोन सम्पर्क पनि गर्‍यौं । अरु सबै उपस्थित हुनुभयो । उहाँ आउनुभएन,’ उनले भने, ‘त्यसैले पार्टीको विधानअनुसार नै उहाँलाई स्पष्टिकरण सोधेका छौं ।’

पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टिकरण बुझाउन भनिएको नेपालीले बताए । ‘उहाँलाई के कति कारणले उपस्थित हुनुभएन । पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्टिकरण बुझाउन भनेका छौं । त्यसपछि थप प्रक्रिया अगाडि बढ्छ ।’

सांसद गुरुङले आफुले ह्विपबारे जानकारी नपाएको प्रतिक्रिया दिएका छन् ।

  • २ असार २०८१, आईतवार १६:४६ प्रकाशित