राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको भ्रमण गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।

नेपाल र जर्मनीबिच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबिचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १५:३० प्रकाशित