पार्किङ निषेध गरेको वर्षदिन नपुग्दै पृथ्वीचोक क्षेत्र पुन : अस्तव्यस्त

केन्द्रभाग मिडिया

पोखरा ।

जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउनेरओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ ।गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो ।

पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो ।

पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दूरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए । नगर बसलगायत छोटो दूरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे ।

पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ ।काठमाडौँलगायत लामो दूरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ ।

माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।

पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए ।

‘पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ,’ उनले भने, ‘सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयबासीको साथ चाहिन्छ ।’

पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पर्खाइमा छ । बसपार्क बनाउन वि।सं। २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ ।

  • ३० जेष्ठ २०८१, बुधबार १६:१८ प्रकाशित