प्रतिभामा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’

केन्द्रभाग मिडिया

पोखरा ।
पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ ।

विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयरको उद्घाटन गरे । तीनदिने उक्त फेयरमा दुइहजार जना भन्दा बढी विद्यार्थी सहभागि हुने प्राचार्य सापकोटाले जानकारी दिए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागि छन । ती सबै सहभागीले यो पटक एसइइ परीक्षा दिएका छन् । विद्यार्थीले व्यक्तिगत, समूहगत वा विद्यालयबाट सहभागिता जनाएको पनि प्राचार्य सापकोटाले बताए ।

प्राचार्य सापकोटाका अनुसार विज्ञान हाजिरी जवाफ, नेपाली वक्तृत्वकला, छात्र तथा छात्रा बास्केटबल, भलिवल, टेनिस, चेस, ब्याडमिन्टन, फुटसलका प्रतियोगिता हुनेछन । त्यस्तै सूचना प्रविधिका गतिविधिबारे पनि जानकारी पाइने उनले बताए । उनका अनुसार फुटसल र बास्केटबलमा मात्र करिब एक–एकसय टिम सहभागि छन । सबैगरि १३ वटा प्रतियोगिता आयोजना हुने उनले बताए ।

‘एसइइ दिएर बसेका विद्यार्थीलाई सक्रिय बनाउन र उनीहरु भित्रको प्रतिभा प्रस्फुटन गराउनका लागि कार्यक्रम गरेका हौ,’ सापकोटाले भने, ‘कामविहीन तरिकाले घरभित्र बसिरहन भन्दा विद्यार्थीलाई यो बेला सक्रिय राखिराख्यो भने उनीहरु भित्रको प्रतिभा प्रस्फुटन हुनेछ,’ उनले भने, ‘पढाई नहुँदा यो बेला एसइइ दिएका विद्यार्थी फुर्सदिला बनेका छन । उनीहरुलाई कुनै न कुनै गतिविधिमा सहभागि बनाएर सक्रिय बनाउन आवश्यक छ । विद्यार्थीको रचना खेर जान दिनु हुँदैन ।’

प्राचार्य सापकोटाका अनुसार विद्यार्थीलाई प्रविधिमा स्मार्ट बनाउनका लागि सूचनाप्रविधिसँग सम्बन्धित गतिविधि आवश्यक रहेको छ । माइ सेकेन्ड टिचर (एमएसटी)सँगको सहकार्यमा सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रम गरिने उनले बताए । सापकोटाका अनुसार प्रतिभा माविले विद्यार्थीलाई आवश्यकता अनुसार अतिरिक्त पाठ्यक्रम अध्यापन गराएर अब्बल बनाउने गरिएको छ ।

‘हामीले विद्यार्थीका हरेक क्षमतालाई कदर गर्छाै । विद्यार्थी सबैका आ आफ्नै क्षमता र खुबी हुन्छन । हामी ती क्षमतालाई कदर गरेर अगाडि बढ्न हौसला दिन्छौ,’ उनले भने, ‘यहाँ जित्ने हार्ने भन्दा पनि क्षमता देखाउने अवसर विद्यार्थीलाई हुनेछ ।’ उनका अनुसार उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार पनि दिइनेछ । सबै सहभागि विद्यार्थीले प्रमाणपत्र पाउनेछन ।

माइ सेकेन्ड टिचरका गण्डकी प्रदेश प्रमुख विवेक श्रेष्ठले प्रविधिलाई जोडेर यो कार्यक्रम आयोजना गरिएको बताए । विद्यालयका विहानी सत्रका व्यवस्थापन विषयका संयोजक डा. बोधराज ढकालले विद्यार्थीलाई सक्रिय र रचनात्मक बनाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । प्रतिभा माविमा ११ र १२ कक्षामा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान संकायमा अध्यापन हुन्छ ।

 

  • २४ जेष्ठ २०८१, बिहीबार १९:४५ प्रकाशित