काठमाडौं ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले यूएईको सामना गर्दैछ ।
समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९स् ४५ बजे सुरु हुनेछ ।
नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको हो ।एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो ।
दोस्रो चरणमा नेपालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ ।
यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ ।
नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन् ।
विश्वकप छनोटको यात्रा सकिसकेको नेपालका लागि अब बाँकी दुई खेल एसियन कप छनोटको तेस्रो चरणको तयारीको लागि महत्वपूर्ण हुनेछ । नेपालले समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।