पोखरा ।
पर्यटकीय राजधानी पोखराको फेवातालमा स्वास्थ्यका लागि पौडी, राष्ट्रका लागि खेलाडी र पर्यटन प्रवद्र्धनमा हाम्रा ताल र पौडी भन्ने नाराका साग आगामी वैशाख २९ गते खुल्ला पौडी प्रतियोगिता हुने भएको छ ।
आयोजक गण्डकी प्रदेश पौडी संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । गण्डकी प्रदेश पौडी संघको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा हुने उक्त प्रतियोगिता दुई विद्यामा आयोजना गरिने गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुँवरले जानकारी दिए ।
नेपाली पुरुष, महिला र विदेशी गरी पांच सय मिटर खुल्ला पौडी प्रतियोगिता हुने छ । जसमा पुरुष र महिला दुवै विद्यामा प्रथम हुनेले नगद १० हजार, अवार्ड तक्मा र प्रमाणपत्र, दोश्रो हुनेले नगद ८ हजार तक्मा र प्रमाण पत्र र तेश्रो हुनेले नगद ५ हजार तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी विदेशी तर्फ प्रथम हुनेले कुपन, अवार्ड तक्मा र प्रमाणपत्र, दोश्रो हुनेले कुपन, तक्मा र प्रमाणपत्र र तेश्रो हुनेले कुपन, तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन ।
फेवातालको पानी सफा र स्वच्छ छ र पानीमा हुने खेललाई प्रवद्र्धन गर्नका लागि पौडी प्रतियोगिता गर्न लागिएको र उक्त प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर दिने पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष विष्णु बहादुर भट्टराइले वताए ।















