कांग्रेस गण्डकीको नेतृत्व चयनका लागि मतदान सकियो, मतगणना आजै सुरु हुने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सकिएको छ । कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

मतगणना साँझबाट सुरु हुने जानकारी दिइएको छ । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीका अनुसार साँझ ८ बजेबाट पोखरा उद्योग वाणिज्य संघमा मत गणना हुनेछ । तीन वटा ग्रुपमा मतगणना हुने हुँदा परिणाम छिट्टै सार्वजनिक हुने उनले जानकारी दिए ।

गण्डकी प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) ले प्यानलसहितको प्रतिस्पर्धामा छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ ।

संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् । जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन् ।

महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डे, शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने प्रव्तिस्पर्धा गरेका छन् । सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

सहमहामन्त्री दुई जनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आले, शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे प्रतिस्पर्धामा छन् । सहमहामन्त्रीमा प्यानल बाहिरबाट युवराज बास्ताकोटी र गणेश सापकोटा प्रतिस्पर्धामा छन् ।

 

  • १८ मंसिर २०७८, शनिबार १६:५८ प्रकाशित