शेन्जेन ।
चीनको शेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।
आ(आफ्ना देशका राष्ट्रिय झन्डाअगाडि उभिएर परम्परागत सामूहिक तस्बिर खिचाउँदै तीनै नेताले बैठकको औपचारिक सुरुआत गरे। तस्बिर खिचाउने क्रममा सीको अनुहारमा सधैँझैँ मन्द मुस्कान देखिन्थ्यो भने पुटिन र ट्रम्प तुलनात्मक रूपमा गम्भीर मुद्रामा देखिएका थिए। वार्ता सुरु हुनुअघि नेताहरूबिच हात मिलाएको भने देखिएन।
बैठकको सुरुवाती मन्तव्यमा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्ध आफ्नो मुख्य चासोको विषय रहने प्रस्ट पारे। पछिल्लो २४ घण्टामा आफूले सी र ट्रम्पसँग गरेको छुट्टाछुट्टै छलफलको प्रसङ्ग जोड्दै उनले, ‘युक्रेन मामिलामा हाम्रा साझा चासोहरू छन्,’ भन्ने धारणा राखे।
आयोजक मुलुक चीनका राष्ट्रपति सीले यो अभूतपूर्व बैठकको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरे। विश्व शान्तिका लागि शक्ति राष्ट्रहरूबिचको सम्बन्धबारे बोल्दै उनले भने, ‘ठुला शक्ति राष्ट्रहरू मिलेर बस्दा नै विश्वमा शान्ति कायम हुन्छ ।’ अप्ठ्यारो परिस्थितिमा नै वास्तविक जिम्मेवारी देखिने बताउँदै उनले विश्वव्यापी चुनौतीहरू समाधान गर्न तीनै देश एकजुट हुनुपर्नेमा जोड दिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने आणविक हतियारका विषयमा छलफल गर्न तीन देश सबैभन्दा उपयुक्त स्थितिमा रहेको बताए। विगतका नेतृत्वले असमझदारी भएका नेताहरूसँग संवाद टार्ने गरेको स्मरण गर्दै उनले भने, ‘अवसरहरू पन्छाएर कहिल्यै पनि शान्ति निर्माण हुन सक्दैन।’
विश्वलाई नै असर गर्ने समस्याहरू सुल्झाउन आफूहरूको काँधमा ठुलो जिम्मेवारी रहेको उनको भनाइ थियो। जारी बैठकअघि आफूले पुटिनसँग युक्रेन युद्धबारे कुराकानी गरिसकेको जानकारी पनि ट्रम्पले दिए। एजेन्सी












