काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् ।
आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले उक्त चेतावनी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए । गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गर्दै झलनाथले ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको बताएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको भन्दै एकीकृत समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका थिए । उनले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए । ‘सुदूरपश्चिमको विवाद आज बेलुकासम्म मिलाउने कोसिस गर्छु, तपाईंले पनि आफ्नो पार्टीभित्र मिलाउन पहल गर्नुस्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले बताएको छ ।
केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएपछि सत्ता गठबन्धनभित्र तरंग सिर्जना भएको छ ।