पोखरा ।
अघिल्लो पटक मुख्यमन्त्री हुँदा १२ मन्त्रालय बाट घटाएर ७ मा झारेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक मुख्यमन्त्री हुँदा ७ बाट फेरी ९ मा पुर्याउने निर्णय गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
सरकारको चालु खर्च घटाउने र छरितो सरकार बनाउने भन्दै उनले त्यतिबेला मन्त्रालय संख्या घटाएका थिए । पहिलो पटक मुख्यमन्त्री बन्दा अधिकारीले एमालेका ३, माओवादीका २ र राप्रपाका १ जनालाई मन्त्री बनाएका थिए ।
यसपालि भने मुख्यमन्त्री अधिकारीले आफै नियुक्त भएकै दिन माओवादी संसदीय दलका नेता चुमान र एकीकृत समाजवादी परित्याग गरेको घोषणा गरेका दिपक मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका थिए । राप्रपा पनि सरकारमा आउने आशा उनले गरेका छन् ।
आवश्यक परे राप्रपाका २ जना सांसदलाई नै मन्त्री बनाउनुपर्ने भएकाले मन्त्रालय बढाएको हुन सक्ने सत्तारुढ दलकै नेताहरुले आंकलन गरेका छन् । तर, कुन पार्टीलाई दिने नदिने भन्दापनि आवश्यकताले मन्त्रालयको संख्या बढाउने सल्लाह भएको प्रदेश सभामा एमाले प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले बताए ।
‘पहिले १२ बाट घटाएर ७ मा झारियो अहिले फेरी बढाउने निर्णय किन गरियो ?’ भन्ने जिज्ञासामा उनले भने, ‘तत्कालिन अवस्थामा घटाउनुपर्ने आवश्यकता थियो । अहिले बढाउने आवश्यकता पर्यो । यसमा कसैलाई ताग्रेट गरेर भन्दापनि आवश्यकताले नै मन्त्रालयको संख्या बढाउने सल्लाह भएका हो ।’
गण्डकीमा नेपाली कांग्रेसको २७, एमालेको २२, माओवादीको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङेसहित ६० सांसद छन् ।