गण्डकीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता अधिकारीले गरे दाबी पेस

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । सभामुख कृष्ण धिताल र नेकपा एकीकृत समाजवादीबाट राजिनामा दिएका राजिव गुरुङको समेत समर्थनमा उनले मुख्यमन्त्री दाबी गरेका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही २७ चैतको ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

त्यसैले नेकपा एमाले संसदीय दलका नेता अधिकारी, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र राजिव गुरुङसहित मुख्यमन्त्री कार्यालयमा पुगेर दाबी पेश गरेका हुन् ।

दाबी पेस गरेपछि नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिए । प्रदेश प्रमुखले आजै अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने उनले विश्वास व्यक्त गरे । आफूहरुको दाबी संविधानसम्मत भएको पनि उनले बताएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

 

  • २५ चैत्र २०८०, आईतवार १२:०२ प्रकाशित