काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा आफ्नो पार्टीबाट तीन जनानै मन्त्री हुनुपर्ने बताएको छ । गठबन्धनमा भागबण्डा नमिलेपछि एक मन्त्री फिर्ता बोलाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आग्रह गरेपनि सो पार्टीले अस्वीकार गरेको हो ।
एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता कृष्ण खनालले पार्टीलाई तीन वटै मन्त्री चाहिने बताए ।सो पार्टीबाट यसअघि दुई जना मन्त्री रहेकामा सोमबार रमा आलेले पनि विनाविभागीय मन्त्रीको शपथ लिएकी थिइन् । रमा मन्त्री बनेपछि गठबन्धनका अन्य नेताले यसअघिका दुईमध्ये एक मन्त्रीलाई फिर्ता बोलाउन भनेपनि त्यो आफूहरूलाई मान्य नभएको उनले बताए ।
एकीकृत समाजवादीले नमानेपछि १२ वटा मन्त्रालय रहेको बागमतीमा १३ जना मन्त्री भएका छन् । यसबारे छलफलका लागि मंगलबार नेताहरू बसेपनि सहमति नभएपछि हाललाई एमालेबाटै चार जना मन्त्री थप्ने र बाँकी विषय मिलाउँदै जाने तय भएको छ ।
एकीकृत समाजवादीबाट हाल श्रम, रोजगार तथा यातायात मन्त्रीमा लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षीमा राजेन्द्र मान श्रेष्ठ र विनाविभागीयमा रमा आले मन्त्री छन् । यस्तै माओवादीबाट मुख्यमन्त्रीसहित चार मन्त्री र एमालेबाट ५ जना मन्त्री छन् । यस्तै हाम्रो नेपाली पार्टीबाट एक जना मन्त्री छन् ।