कोशी प्रदेशमा कांग्रेसले विपक्षमा मत दिने, राप्रपा तटस्थ बस्ने

केन्द्रभाग मिडिया

विराटनगर ।

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ । राप्रपा संसदीय दलका प्रमुख सचेतक सविना बजगाईले आफ्नो पार्टीले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगर्ने निर्णय गरेको बताइन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

  • ८ भाद्र २०८३, सोमबार १३:११ प्रकाशित