टी – २० : आरिफ शेखको अर्धशतकसँगै नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले आक्रामक पाली खेल्दै केवल ४८ बलमा ६ छक्का र सातवटा चौका पनि प्रहार गरे । उनी केवल सात रनका कारण शतक पुरा गर्नबाट चुके । रासिद खानले २४ रन बनाए ।

नवौँ नम्बरमा क्रिज समाल्न आएका कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । उनले केवल सात बलको सामना गरी एक छक्का दुई चौका हिर्काए । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

ओपनर लोकेश बम आठ र देव खनाल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नारायण जोशी भने एक रनमै आउट भए । नेपालले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो ।

  • १९ चैत्र २०८०, सोमबार १५:२० प्रकाशित