काठमाडौँ ।
गण्डकी प्रदेश सरकारका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल समाजवादी पार्टी ९नेसपा० का नेताहरूबिच छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला र नेसपाका अध्यक्ष बाबुराम भट्टराईबिच भेटवार्ता भएको हो ।
बुधबार बिहान देउवा निवास बुढानीलकण्ठमा गण्डकी प्रदेश सरकारका विषयमा उनीहरूबिच छलफल भएको कांग्रेसका एक नेताले बताए । गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।
कांग्रेसका २७, राप्रपाका २, एकीकृत समाजवादीबाट बाहिरिएर स्वतन्त्र हैसियत मगेका दीपक मनाङे र माओवादी चुनाव चिह्नबाट जितेका नेसपाका फणीन्द्र देवकोटाको समर्थनमा बहुमत जुटाउने मुख्यमन्त्री पाण्डेको रणनीति छ । मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाइसकेका छन् भने देवकोटाको समर्थनका लागि केन्द्रीय नेताहरूले नेसपा अध्यक्ष भट्टराईसँग संवाद अगाडि बढाएका छन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले नेसपा अध्यक्ष भट्टराईले गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने सन्दर्भमा सकारात्मक जवाफ दिएको बताए । मुख्यमन्त्री पाण्डेलाई मनाङे र देवकोटाले साथ दिने देखिए पनि गण्डकी सत्ता समीकरणमा निर्णायक शक्ति राप्रपा मौन छ ।
राप्रपाको साथ पाउने अवस्था बने विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी छ ।













