राप्रपा चुनावः अध्यक्षमा थापा र लिङ्देन भिड्दै,उपाध्यक्ष र महामन्त्रीमा यी नेता चर्चामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु भएको छ। हिजो नै महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आजबाट निर्वाचन प्रक्रिया सुरु भएको बताइएको छ ।

हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस भएको थियो। आज बिहान ८ बजेदेखि पुन सुरू हुने बन्दसत्रबाट दुबै प्रस्ताव पारित गर्ने कार्यतालिका तय गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार बिहान ९ देखी १२ बजेसम्ममा उम्मेदवारी दर्ताको समय राखिएको छ।

उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ। उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ देखी ४ बजेसम्म तोकिएको छ।

अपराह्न ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि बिहीबारको कार्यक्रम सम्पन्न हुने छ। शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय राखिएको छ। त्यसपछि मतगणना सुरू हुने बताइएको छ।

राप्रपामा पदाधिकारीका लागि अध्यक्ष, तीन उपाध्यक्ष र तीन महामन्त्रीका लागि चुनाव हुनेछ।तीन उपाध्यक्ष र महामन्त्रीका लागि दुबैले समूह बनाउने तयारी गरेका छन्। थापा र लिङ्देन दुबै पक्षबाट ती पदका लागि नेताहरूको नामहरू चर्चामा छ।

तर, निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि राप्रपाको मतदाता नामावलीको टुंगो लागेको छैन। मतदाता नामावली प्रकाशन गर्न बुधबार बिहान नै समय तोकिएको थियो।

निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने प्रयास भने गरिरहेको बताइएको छ।अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान, जयन्त चन्दलगायतको नाम चर्चामा छ।

एक महिलासहित तीन जना उपाध्यक्ष रहने व्यवस्था भए पनि महिलाबाट कसैले दाबी गरिसकेको छैन।लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमल्सिना उपाध्यक्षको चर्चामा छन्। महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ।

राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने व्यवस्था छ। महामन्त्री पदमा लिङ्देन पक्षबाट गोविन्द खनियाँ, धवलशम्शेर राणा र रेखा थापा आकांक्षी छन्।

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।
सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।

  • १६ मंसिर २०७८, बिहीबार ०८:४९ प्रकाशित