स्याङ्जा प्रशासनमा सेवाग्राहीलाई सरकारी सेवासँगै अब निःशुल्क स्वास्थ्य सेवा पनि

केन्द्रभाग मिडिया

स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा लिन आउने सेवाग्राहीलाई अब सरकारी सेवासँगै निःशुल्क प्रारम्भिक स्वास्थ्य सेवा पनि उपलब्ध गराउने भएको छ ।

पुतलीबजार नगरपालिकाको सहयोग र प्रशासन कार्यालयको समन्वयमा गत बिहीबारदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार हाललाई हरेक हप्ता सोमबार र बिहीबार हेल्थ डेस्क सञ्चालन हुनेछ । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीको चापलाई ध्यानमा राखेर स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको उनले बताए ।

विशेषगरी गाउँबाट सेवा लिन आउने ज्येष्ठ नागरिक, विपन्न तथा टाढाका सेवाग्राहीलाई लक्षित गरी यो सेवा सुरु गरिएको प्रजिअ घिमिरेको भनाइ छ ।

हेल्थ डेस्क सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाएको छ । सेवाग्राहीलाई आवश्यक परे एम्बुलेन्सको व्यवस्था पनि गरिनेछ ।

कार्यालय समयभर एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय परिसरमै तयारी अवस्थामा राखिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

 प्रशासनमा सेवा लिन आएका व्यक्तिलाई स्वास्थ्य समस्या देखिएमा आवश्यक प्रारम्भिक औषधिसमेत उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले बताए ।

  • १ मंसिर २०८३, मंगलवार ११:५२ प्रकाशित