लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकीको अध्यक्षमा जीत गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्षमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए ।

अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका अनुसार केही सदस्यहरु पछि मनोनित गरिनेछ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापती तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । कार्यक्रममा उनले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नु पर्ने, आदिवासी जनजातिको अधिकारलााई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो ।

‘जनजातिहरुमा खुल्लापन छ । त्यो भनेकै प्रजातन्त्र हो,’ उनले भने, ‘उनीहरुले आदिम कालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्रबिच पहिल्यैदेखिको सम्बन्ध छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेका गण्डकी सभापती शुक्रराज शर्मा, कास्कीका सभापती किशोरदत्त बराल, प्रदेशसभा सदस्यहरु बिमला गौचनल सरस्वती गुरुङ, जीत शेरचन, जीतप्रकाश आले, तमुसंघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङ, महासंघ कास्की अध्यक्ष आशबहादुर गुरुङ लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्ने बताएका थिए ।

  • १० चैत्र २०८०, शनिबार २१:०१ प्रकाशित