पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरा आइतबारबाट देशकै पर्यटकीय राजधानी बनेको छ । पर्यटकीय राजधानी घोषणा भएको पोखरामा होटलहरुमा मात्र झण्डै ५ खर्ब लगानी रहेको होटलसंघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेपनि कोर पोखरासहित वरिपरिका डाँडाकाँडामा होटेल तथा रिसोर्ट खुल्ने क्रम बढ्दो छ ।
अहिले पोखरामा एउटा पाँचतारे होटल चालु छ । सातवटा चारतारेसहित पर्यटन स्तरका १२ सय होटेल तथा लज छन् । जसमा ४० हजार बेड संख्या रहेको उनले बताए । अध्यक्ष सुवेदीले होटलहरुले मात्र १५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गर्छन् । ‘पोखरा र वरपर गरेर १२ सय होटल पर्यटकी स्तरका होटल छन् । त्यसमा झण्डै ५ खर्बको लगानी छ । ४० हजार पर्यटकलाई हामी एक साथ पोखरामा बास बसाल्न सक्छौ । १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ’ उनले भने ।
पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले दिएको प्रतिवेदनमा गण्डकी प्रदेशभित्र तीन सय ५० भन्दा बढी होमस्टे छन् । पोखरामा पर्यटकीय स्तरका तीन सयभन्दा बढी रेस्टुरेन्ट छन् । ७४ वटा प्याराग्लाइडिङ र तीनवटा अल्ट्रालाइट कम्पनी रहेका उल्लेख छ ।