पोखरेली पर्यटन व्यवसायीद्धारा विभिन्न मागसहित प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

पोखरालाई पर्यटनको राजधानी घोषणा हुनुअघि व्यवसायीले ८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले पोखराको विकास र प्रचार प्रसारका लागि नियमित बजेट बिनियोजन गरिदिन माग गरेका छन् ।

यस्तै पर्यटन बोर्डको पुनःसंरचना सहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्न, व्याजदर एकल अंक र व्यक्तिगत कर्जाजस्तै व्यवसायिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा वित्तीय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने माग व्यवसायीको छ ।

त्यस्तै पोखरा मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न साथै पोखरा सुनौली राजमार्गको स्तरोन्ती गर्न, पोखरा अन्तराष्ट्रिय एयरपोर्टबाट अन्तराष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गर्दै अन्य एयरलाइन्सलाई पनि सुविधा सहित आकर्षण प्याकेज दिई प्रोत्साहन गर्न व्यवसायीले माग गरेका छन् ।

अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा नेपाली क्रिकेटले पाएको सफलतालाई सरकारको तर्फबाट संरचनाहरु निमार्ण गरी खेल पर्यटनको रुपमा बिकास गर्न पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्ती गर्न, मुस्ताङ्ग–डोल्पा, पोखरा–भिमाद–काबासोती, नारायणगढ।–बुटवल सडकको निर्माण सम्पन्न गरी पोखराबाट समदुरीमा रहेको त्रिवेणी कोरोला नाकालाई त्रिदेशीय व्यापारीक प्रर्वद्धन गरी पोखरालाई अन्तराष्ट्रिय पर्यटन र व्यापारीक केन्द्रको रुपमा विकसित गर्न माग रहेको छ ।

यस्तै नेपाल नागरीक उड्डयन प्रधिकरणलाई पोखरा, धरान र अन्य सम्भाव्य स्थानमा प्याराग्लाइडिङको स्थायी सोलो उडान खुलाउने अनुमतिका लागि निर्देशन तथा सहजिकरण गरीदिन पर्यटनव्यवसायीको माग छ ।

पोखरेली पर्यटन व्यवसायीले पोखरा पर्यटकीय राजधानी घोषणा कार्यक्रमले आफुहरुले सामना गर्नुपरेको चुनौतीहरुको सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।

  • ४ चैत्र २०८०, आईतवार ११:३४ प्रकाशित