पर्यटकीय राजधानी घोषणासंगै पोखरा २४ सै घण्टा खुला रहने

सुरुमा मूख्य पर्यटकीय केन्द्रमा र क्रमस सिंगो पोखरामा लागुहुने, पर्यटन व्यवसायी उत्साहित

गोविन्द सुवेदी

पोखरा ।

पोखरालाई भोलि (आइतबार) पर्यटकीय राजधानी घोषणा गरिँदैछ । यसंगै पोखरा २४ सै घण्टा खुला रहने सन्देश पनि दिइँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार विहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा २४ सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।

निस्चित मापदण्ड पुरा गरेका मुख्य सहरी क्षेत्रलाई पर्यटकीय राजधानी घोषणा भएसंगै २४ सै घण्टा खुला राख्ने निर्णय भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए । क्रमस सिंगो पोखरालाई नै २४ सै घण्टा खुला गर्दैजाने निर्णय भएको उनले उल्लेख गरे ।

सहाक सिडिओ क्षेत्रीका अनुसार सुरुमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्डा खुला राख्ने निर्णय भएको छ । खुला राख्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले निस्चित मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ ।

गृह मन्त्रालयले यस अगाडि नै २४ सै घण्टा खुला राख्नका लागि केही मापदण्ड निर्धारण गरेको र मापदण्ड पुरा गर्नुपर्ने उनको भनाई छ । मापदण्डको बिषयमा पर्यटकीय राजधानी घोषणा कार्यक्रममै सार्वजनिक गरिने उनले जानकारी दिए । ‘मुख्य पर्यटकीय हबहरुलाई २४ घण्टा खुला राख्ने निर्णय भएको हो । यो पर्यटकीय राजधानी घोषणासंगै लागु हुन्छ । त्यसका लागि निस्चित मापदण्ड पनि बनेको छ । त्यो सबै पर्यटकीय राजधानी घोषणा कार्यक्रमसंगै सार्वजनिक गरिनेछ ।’ उनले भने, ‘मापदण्ड पुरा गरेको व्यवसायीक फर्म २४ घण्टा सञ्चालन गर्दा चहिने बाहिय सम्पूर्ण सुरक्षा प्रबन्ध प्रशासनले गर्छ ।’

पोखरा महानगरका मेयर धनराज आचार्यले सुरक्षा समिति र सम्बद्ध सबै निकायको बैठकले पहिलो चरणमा लागु गर्नेगरी राति १ बजेसम्म र रातभर खोल्नेगरी कार्यबिधी बनेको बताए ।

पर्यटकीय राजधानी घोषणासंगै पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्ने तयारीले आफूहरु उत्साहित बनेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनले यो आफूहरुका लागि अर्को उत्साहको विषय रहेको धारणा राखे ।

पर्यटन परिषदका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराइले पोखरामा पर्यटकीय पूर्वाधारहरु धेरै बन्ने क्रममा रहेका तर त्यसलाई सदुपयोग गर्ने दीर्घकालिन रणनीति आवश्यक रहेको भन्दै २४ सै घण्टा पर्यटन क्षेत्र खुल्ने कुरा व्यवस्थितढंगले अगाडि बढाइनुपर्ने बताए । यसले आफूहरुलाई उत्साहित बनाएको उनको भनाई छ ।

होटल संघ गण्डकीका अध्यक्ष हरिशर्मा गैह्रेले २४ सै घण्टा पोखरा उज्यालो र खुला रहेको सन्देशले सिंगो गण्डकी प्रदेशको अर्थतन्त्र चलायन हुने विश्वास प्रकट गरे । यसलाई व्यवस्थित गर्न उचित र स्वस्थकर खानपानका साथै सुरक्षाको समेत त्यही अनुरुपको प्रबन्ध हुनुपर्नेमा उनले जोड दिए ।

 

 

  • ३ चैत्र २०८०, शनिबार १६:४८ प्रकाशित