मनाङका बाढी तथा पहिरो प्रभावितलाई विशेष सहयोग प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

मनाङका बाढी तथा पहिरो प्रभावितहरुलाई गण्डकी प्रदेश सरकारले बिषेश सहयोग प्रदान गरेको छ । नासो गाउँपालिकामा आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन सहितको टोलीले बाढी तथा पहिरो पूर्ण प्रभावित ७४ घर परिवारलाई बिषेश राहत एंव सहयोग हस्तान्तरण गरेको हो ।

नासो, चाँमे लगायतका गाउँपालिकाका प्रभावितहरुलाई प्रदेश सरकारले उपलब्ध गराएको बिषेश सहयोग दुई लाख रुपैया बराबरको चेक मन्त्री बराल सहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो । यस अघि प्रभावित क्षेत्रमा केही समय अघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ मन्त्री बराल सहितको टोलीले अवलोकन गर्दै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्री बरालले हाल प्रदेश सरकारले पूर्ण घर क्षति भएकाहरुलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराएको बताउदै आंसिक क्षेती भएको एकित तथ्याङक संकलन गर्न समेत आग्रह गरे । प्रदेश सरकारले ढिलै भए पनि उक्त रकम उपलब्ध गराएको सो रकमलाई उचित ढंगले प्रयोग गर्न मन्त्री बरालले प्रभावितहरुलाई आग्रह गरे ।

मनाङ क्षेत्र यस बर्षको बाढी तथा पहिरोले निकै प्रभावित भएकोले तत्काल गर्नूपर्ने आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकारको ध्यान केन्द्रित भएको उनको भनाई थियो । प्रदेशका सम्बन्धित निकायहरु मनाङ क्षेत्रको विकास निर्माणमा जागरुक हुन र स्थानीयलाई सचेत हुन मन्त्री बरालले आग्रह गरेका छन् ।

नासो गाउँपाालिकाका अध्यक्ष चन्द्र घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद चिन्ता बहादुर घले, मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, गण्डकी प्रदेश अर्थ मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल, उपसचिव वशन्तराज तिवारी, मन्त्रीका निजी सचिव कृष्णप्रसाद पौडेल, नासो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव भेटवाल, स्वास्थ्य शाखा प्रमुख तुल्सीराम गुरुङ लगायतको सहभागिता रहेको थियो । स्मरणरहोस असार एक गते आएको बाढी तथा पहिरोले गर्दा मनाङ क्षेत्रमा ठुलो क्षती पुगेको थियो ।

  • १२ मंसिर २०७८, आईतवार २०:०९ प्रकाशित