सामूहिक खेतीमार्फत आत्मनिर्भर बन्दै मनाङका महिला

केन्द्रभाग मिडिया

मनाङ ।

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताइन् ।

‘जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ’, उनले भनिन्, ‘एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ ।’ सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उनको भनाइ छ ।

“यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ । उत्पादित आलु यहीँ खपत भइरहेको छ”, स्थानीय घलेले भनिन् । जिल्लाका अन्य क्षेत्रमा पनि सामूहिक खेती गर्न सके यहाँ उत्पादित आलु बाहिर निर्यात गरेर आम्दानी बढाउन सकिने उनको भनाइ छ ।

किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताइन् । ‘सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ’, उनले भनिन् । मनाङमा उत्पादित आलुको माग ठूला सहरमा भइरहेको भन्दै गुरुङले मागअनुसारको उत्पादन हुन नसकेको बताइन् । सामूहिक खेती सुरु गरेसँगै मनग्य आम्दानी हुन थालेपछि कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आमनागरिकमा पुर्याउन सकिएको उनको भनाइ छ ।

उनीहरूजस्तै यहाँका महिला आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले उत्पादित आलु यही खपत हुने किसान बताउँछन् । बाहिरको मागलाई पूर्ति गर्न नसकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । हिउँद लागेसँगै जाडो छल्न काठमाडौँ, पोखरालगायत सहर झरेका यहाँका किसान अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त भएका नासो–५ का वडा सदस्य फूलमाया विकले बताइन् ।
गाउँ फर्किएर जौँ, गहुँ, आलु, उवा, करु, फापरलगायत खेती गर्न किसान व्यस्त हुन थालेका वडा सदस्य विकको भनाइ छ । नासोसँगै चामे गाउँपालिकामा आलु लगाउन भ्याइनभ्याइ भइरहेको उनले जानकारी दिइन् ।

  • २५ फाल्गुन २०८०, शुक्रबार १६:१२ प्रकाशित