पोखरा ।
पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गरेका हुन् ।
६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।
चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीप बहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १६६ केजी च्याउको ४ लाख ८५ हजार ९४० प्राप्त गरेका छन् । भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ का सुष्मा सुनार गहतराजले ७ हजार ५६० केजी च्याउको ३ लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्काले ९ हजार ७१४ केजी च्याउको ३ लाख १७ हजार ४४, ग्रिन लाई म मसरुम फार्म पोखरा २४ का चोविन्द्र बहादुर कुँवरले ३ लाख १ हजार ७४० पाएका छन् ।
सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ का प्रताप सुवेदीले ९ हजार ११३ केजी च्याउको ३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ का धुव्र बहादुर थापाले ५ हजार २२५ केजी च्याउको १ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ का मनोरञ्जन पौडेलले ६ हजार २०३ केजी च्याउको १ लाख ६८ हजार ७०६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा १४ का मिना अधिकारीले २ हजार ७२४ केजी च्याउको ८३ हजार ४४४ र वि।मु अधिकारी च्याउ फार्म पोखरा १४ का हरिमाया अधिकारीले १ हजार २५६ केजी च्याउको ४९ हजार ६०० समर्थन मूल्य बापत पाएकी छिन् ।
यस्तै एस के कँडेल कृषि फार्म पोखरा २८ का सन्तोष कँडेलले ३ हजार ९५० केजी सिमीको रु।६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६७० केजी सिमीको ६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ का अग्निमाया बरालले ८२५ केजी सिमी र १ हजार ७५४ केजी गोलभेँडाको ३५ हजार ४२१, निलम कृषि फार्म पोखरा १४ का याम बहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको २३ हजार ४७५, रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको २ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा १४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको १५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको ८ हजार ७३० बुझेका छन् ।
कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताए । ‘कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण छन्, प्रमुख आचार्यले भने, कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ, तपाँईहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ ।’ कृषि व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोगका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।
समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको प्रतिक्रिया दिएका छन् । यसले आफूहरूलाई प्रोत्साहन मिलेको उनीहरूको तर्क छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।