मनाङ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए। उनले भने, ‘हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेका छन् ।’
उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो । प्रजिअ लामिछानेले भने, आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।’ माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक आउन थालेका जानकारी दिए।समय सकिनलाग्दा परेको भारी हिमपातले किसानलाई राहत मिलेको छ ।













