मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो

केन्द्रभाग मिडिया

मनाङ ।

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए।

उनले भने, ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।’

दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको हो । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिरोले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।

यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताए।

  • २२ फाल्गुन २०८०, मंगलवार १०:०९ प्रकाशित