ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको ज्यान गयो

केन्द्रभाग मिडिया

बारा ।

बाराको एक ग्यारेजमा भएको विस्फोट परि घाईते थप एक जनाको ज्यान गएको छ । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज मा सोमबार भएको विस्फोटमा परी घाईते भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको ज्यान गएको हो । यसअघि ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगरको ज्यान गएको थियो। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुईजनाको उपचारको क्रममा ज्यान गएको हो।

निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ ।

विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

  • १५ फाल्गुन २०८०, मंगलवार ११:०९ प्रकाशित