पोखरा ।
अब पोखरा महानगरपालिका भित्र बन्ने ५ तला माथिका घरहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार मापदण्डमा यस्तो व्यवस्था अनिवार्य गरिएको हो ।
‘१७ मिटर भन्दा बढी उचाइ या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ । लिफ्ट सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय भवन संहिता अनुसार हुनेछ,’ मापदण्डमा उल्लेख छ । ५ तालभन्दा अग्ला संरचना बनाउँदा माटो परीक्षण सहित संरचनात्मक योजनाको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि लेकसाइड क्षेत्रमा साढे २ तला र त्यस बाहिरका क्षेत्रमा साढे ३ तलाको घर बनाउन पाउने व्यवस्था थियो । अहिले सबैतिर ५ तलासम्मको घर बनाउन पाउने उल्लेख छ ।
जमिनको अनुपात हेरेर त्यसमाथिको संरचना पनि बनाउन पाइन्छ । तर त्यसका लागि बढी झन्झट छ । यस्ता संरचनाहरूको योजना, ढाँचा र नक्सा महानगरमा कार्यरत प्राविधिक तथा कर्मचारीले बनाउन नपाउने गरी कडाइ गरिएको छ । अहिले अधिकांश प्राविधिकहरूले अप्रत्यक्ष रूपमा आफ्नै कन्सल्टेन्सी चलाएर नक्सा निर्माण गर्दै आएका छन् ।
अग्ला भवन बनाउँदा इन्जिनियरिङ परिषद्मा दर्ता भएका आर्किटेक्ट वा सिभिल इन्जिनियरबाट डिजाइन र सुपरिवेक्षण गराउनुपर्ने र ५ वर्ष सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरेको इन्जिनियरबाट स्ट्रक्चर तथा विशेष सुविधाहरूको डिजाइन गराउनु पर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।