बारा ।
बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक व्यक्तिको ज्यान गएको छ ।
शंकास्पद वस्तु विस्फोट हुदाँ निजगढ नगरपालिका ९ का रेसम मगरको ज्यान गएको छ भने अन्य ४ जना घाईते भएको बारा प्रहरीले जनाएको छ । मगर वर्कसप सञ्चालक रहेको बताइएको छ । रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु विस्फोट हुँदा अन्य ४ जना घाइते भएका छन् ।
उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ । हाल चार जनालाई थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
प्रहरीका अनुसार विस्फोट भएको वस्तु हेर्दा बमजस्तै देखिएको बताइएको छ । त्यो वस्तु कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













